By Tika Raj Karki | Senior Manager for Training and Government Affairs at OLE Nepal


विश्‍वव्यापी महामारी कोभिड १९ ले सबै क्षेत्रमा व्यापक असर पारेको छ । यसलाई कम गर्न देशव्यापी लकडाउन गरियो । शिक्षण संस्था, बैंक, यातायात, व्यापार, उद्योग बन्द गरिए । तैपनि संक्रमण बढ्यो । देशमा आर्थिक लगायत गतिविधि ठप्प प्रायः भए । अर्थतन्त्रमा मन्दी आएर अरु समस्या आउने भयले लकडाउन खोलियो । कोभिडलाई रोकथाम र नियन्त्रण गर्ने प्रयासहरू हुँदाहुँदैपनि कोभिडको संक्रमण झन् बढी रहेको छ ।

हाम्रो सन्दर्भमा लकडाउनको अवधि शैक्षिक सत्रको अन्त्यमा भएकाले शुरुका केहि दिनमा शिक्षा क्षेत्रमा उल्लेखनीय क्षति भएन । वार्षिक परीक्षा जेनतेन सकियो । एसईई रोकियो । नयाँ सेसन सुरु सँगै नियमित विद्यालय जाने अवस्था रहेन । कतिपय विद्यालयले तत्कालै नतिजा तयार पार्न भ्याए । अधिकांश विद्यालयमा लकडाउनसँगै यो काम पनि बन्द भयो ।

लकडाउनको अवस्था बढेसँगै क्रमशः कतिपय विद्यालयहरूले नतिजा अनलाइन निकाले भने कतिले घरघरमा पठाउन समेत भ्याए । बजारमा उपलव्ध पुस्तकहरू उपयुक्त व्यवस्थापन गरेर विद्यार्थी कहाँ पुर्‍याउन थालियो । धेरैजसो विद्यालयले यहि कामलाई सरकारको निर्णय कुरेको अवस्थापनि थियो । यहि अवस्था लामो समयसम्म रहने देखिएकाले केहि विद्यालयहरूले अनलाइन कक्षाको सुरुवात गरे ।

देशमा महामारीको अवस्थालाई आँकलन गर्दा विद्यालयमा गएर नियमित शिक्षण सिकाइ गर्न नसकिने अवस्था देखियो । हामीकहाँ यस्तो परिस्थिति आएमा शिक्षण सिकाइलाई निरन्तरता दिन के गर्न सकिन्छ भन्ने आवश्यक नीति तयार थिएन । अतः सरकारबाट यस्तो अवस्थामा वैकल्पिक तरिकावाट शिक्षण सिकाइलाई निरन्तरता दिन अलग्गै व्यवस्था गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ नै जारी भयो । यसमा सबै स्थानीय तहमा विद्यार्थीलाई सिकाइ प्रक्रियामा सहभागी गराउन निर्देशन गरिएको छ ।

यसमा अन्य कुराका अतिरिक्त विद्यार्थीहरूको घरमा सिकाइका उपकरणहरू भएको आधारमा पाँच भागमा विभाजन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअनुसार जसको घरमा सूचना र सञ्चारको कुनै उपकरण छैन तिनको घरमा पाठ्यपुस्तक, कापी लगायतका साधन उपलव्ध गराउनुपर्ने भयो । तिनलाई भौतिक दुरी र सुरक्षाका नियम पालन गर्दै सार्वजनिक स्थानमा भेला गरेर शिक्षकको उपस्थितिमा सिकाइ निरन्तरता दिनुपर्ने भयो । जसको घरमा रेडियो उपलव्ध छ तिनका लागि रेडियो कार्यक्रम तयार पारेर सिकाइलाई निरन्तरता दिनुपर्ने भयो । यस्तै टेलिभिजन भएका विद्यार्थीका लागि निश्चित समयमा कक्षागत रूपमा सामग्री तयार पारेर प्रशारण गर्ने व्यवस्था मिलाउन भनिएको छ । रेडियो र टेलिभिजनमा कार्यक्रम तयार पार्दा सम्बधित क्षेत्रका विज्ञहरूको परामर्शमा तयार पार्नुपर्ने भयो ।

यस्तै जसको घरमा कम्प्युटर छ तिनका लागि कम्प्युटरमा राखेर प्रयोग गर्न सकिने सामग्रीहरू उपलब्ध गराउने र इन्टरनेट प्रयोगकर्ताका लागि अनलाइन सामग्री प्रयोग गर्न सहजिकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिका कार्यान्वयन गर्न हरेक स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्नेछ ।

यो निर्देशिका आउनु अगावै केहि शिक्षण संस्थाहरूले इन्टरनेट भएको स्थानमा अनलाइन शिक्षण सिकाइ शुरु गरिसकेका थिए । निर्देशिका पश्चात् हालसम्ममा इन्टरनेटको पहुँच भएका प्रायजसो सबै स्थानमा अनलाइन शिक्षण सिकाइ शुरु भइसकेको छ । कोरोना संक्रमण बढेका कारण शिक्षणसंस्था खुल्ने अझै अनिश्चित छ । यो अनिश्चिततासँगै वैकल्पिक शिक्षण सिकाइ थप प्रभावकारी हुनुपर्नेमा त्यस्तो हुन नसकेको अवस्था देखिन्छ । यसो हुनका कारण र तिनको समाधानको लागि गर्न सकिने कामलाई यहाँ उल्लेख गरिएको छ ।

कुनैपनि समयमा बाढी पहिरो, भुकम्प तथा हाल भोगिरहेका जस्ता महामारी कुनैपनि समयमा आउन सक्ने कुरालाई दृष्टिगत गरेर हाम्रो प्रणालीले तयारी गर्न सकेको रहेनछ । जिम्मेवार निकायले यस्तो कठिन अवस्था आएमा शिक्षा क्षेत्रलाई नियमितता दिन सकिने वैकल्पिक माध्यमहरु तयारी अवस्थामा राखिएको भए यति कठिन पक्कै हुने थिएन । हामी महामारी शुरु भएको निकै पछि मात्र के गर्ने भनेर नीति बनाउन थाल्यौँ । जेहोस् अब निर्देशिका तयार भएको छ । यसलाई कार्यान्वयन गरौँ, आवश्यकतानुसार सुधार गर्दै जाऔँ ।

वैकल्पिक सिकाइ सहजिकरण निर्देशिकाका अनुसार विद्यार्थी माझ पुस्तक जसोतसो पुर्‍याइयो । तर कतिपय टोलटोलमा गएर सिकाउन डरलाग्दो भयो । कोहि संक्रमित छ कि भनेर डर र शंकाका भरमा सिकाउनुपर्ने भयो । कतिपय अभिभावकले यो जोखिम मोल्ने कुरा भएन भने केहि शिक्षकमा पनि यो लागू भयो । सबै स्थानमा भौतिक दुरी पालन गर्न ठाउँ र मौसमका कारण कठिन भयो । मास्क र स्यानिटाइजर लगायतका सामग्री सबैतिर पाउन कठिन भयो । यसबाट भयमुक्त र प्रभावकारी सिकाइलाई निरन्तरता दिन अधिकाङ्श स्थानमा सकिएन । अब स्थानीय रूप मै संक्रमणको अवस्था यकिन गरेर मात्र यस्तो सिकाइलाई निरन्तरता दिऔँ । वर्षाको समय सकिएसँगै खुल्ला स्थान प्रयोग गरौँ र पर्याप्त मात्रामा सुरक्षाका सामग्री प्रयोग गर्ने वातावरण बनाऔँ ।

अबको समय सूचना प्रविधिको युग हो । स्वास्थ्य, बैंङ्किङ्, व्यापार, कृषि लगायतका क्षेत्रमा प्रविधिको व्यापक प्रयोग हुन थालेको छ । शिक्षा क्षेत्रमा पनि यसको प्रयोग बढ्दो क्रममा छ । यो समयको मागपनि हो । झन् महामारीको समयमा त यसको थप महत्व हुनसक्छ । स्थानीय तहहरूले पनि शिक्षामा प्रविधिको प्रयोगतर्फ आवश्यक निती तयारी र लगानीको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । शिक्षामा प्रविधिको प्रयोगमा आवश्यक उपकरण कम्प्युटर, ट्याबलेट लगायत व्यवस्था गर्न सकिन्छ । आफ्ना बस्तिमा नियमित पढ्ने उमेरका मानिसको संख्या यकिन गरेर सामुहिक रुपमा प्रयोग गर्न आवश्यक कम्प्युटर वा यस्तै उपकरणको व्यवस्था गर्न सकिन्छ । यिनमा सान्दर्भिक डिजिटल शैक्षिक सामग्री राखेर सामुदायिक रूपमा प्रयोगको व्यवस्था मिलाउन सकिन्छ । यस कार्यलाई वर्तमान महामारीमा मात्र नभएर शिक्षण सिकाइमा निरन्तर प्रयोगको वातावरण मिलाउन सकिन्छ । यसो भएमा विद्यालयमा नियमित नजाने वा गएर छाडेकाहरूलाई व्यक्तिहरूलाई पनि फाइदा पुग्छ । दीगोपना र प्रभावकारी प्रयोगका लागि स्थानीय तहको शिक्षा निति र योजनामा नै यसको व्यवस्था गरेर सम्बन्धित शाखाबाट आवश्यक सहयोग, अनुगमन र मुल्याङ्कन हुने व्यवस्था मिलाउन सकिन्छ ।

धेरैको ध्यान अनलाइन प्रणालीमा गएकोछ, यो नराम्रो पनि हैन । तर दिर्घकालीन प्रयोगको लागि खर्चिलो र धेरै उपकरणहरूमा एकसाथ प्रयोग गर्न ढिला हुने भएकाले अफलाइनलाई नै प्राथमिकता दिनु उपयुक्त हुन्छ । एकपटक मात्र लगानी गर्नुपर्ने भएकाले यो विधि कम खर्चिलो हुन्छ । तर नियमित सूचनाको लागि इन्टरनेट नै चाहिन्छ । ठूलो क्षेत्रमा राम्ररी र निःशुल्क चल्ने किसिमको इन्टरनेट सुविधाको लागि भने सरकारी स्तरबाट संस्थागत रूपमा इन्टरनेट सेवा प्रदायक संस्था (ISP) हरूसँग सहयोग लिने प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

शिक्षकहरूलाई प्रविधि मैत्री बनाउनुपर्छ । सूचना तथा सञ्चारका उपकरणको प्रयोग गर्न अभ्यस्त बनाउन तिनको क्षमता विकासका काम गर्नुपर्छ । प्रचलनमा आएका डिजिटल शैक्षिक सामग्री प्रयोग र नयाँ तयार पार्ने विधि र तरिकाको जानकारी गराउन जरुरी हुन्छ । शिक्षकको क्षमता, रूचि र विद्यालयको आवश्यकता अनुसार दक्ष बनाउने गतिविधिहमा तिनलाई सहभागी गराउन सकिन्छ । पाठ्यपुस्तक मात्र हैन सान्दर्भिक डिजिटल सामग्री र अन्य शैक्षिक सामग्री प्रयोग गरेर पनि शिक्षण सिकाइ अगाडि बढाउन सकिन्छ भनेर आश्वस्त तुल्याउने वातावरण बनाउन सकिन्छ ।

हाल प्रचलनमा आएको रेडियो, टेलिभिजन र अनलाईन सिकाइ प्रक्रियालाई थप व्यवस्थित बनाउनुपर्छ । वैकल्पिक शिक्षण सिकाइ भनिएको छ, तर रेडियो, टेलिभिजन, मोवाइल वा कम्प्युटर अगाडि बसेर पाठ्यपुस्तक नै हुबहु पढाउने गरिएको छ, नियमित कक्षामा जस्तै । विगतमा बालबालिकाहरूले लगातार स्क्रिनमा हेरिरहे भने आँखा कमजोर हुन्छ । यसो गर्न दिनुहुँदैन भनिन्थ्यो । तर हाल कतिपय विद्यालयले दिनमा पाँचघण्टा सम्म स्क्रिन अगाडि विद्यार्थीलाई राखेर पढाएको गुनासो अभिभावकहरूले गरेको पाइन्छ । हामीले हाल भन्न खोजिएको वैकल्पिक सिकाइ भनेको यहि हो त ? अनि विद्यालय, स्थानीय तह र सञ्चारका साधनै पिच्छे अलग अलग विषयवस्तु पढाएको पाइएको छ । यसमा एकरुपता हुनुपर्ने हो कि ? यसका लागि सम्बन्धित निकायबाट एकरूपताको कार्यविधि नै बनाएर लागु गराउनुपर्ने आवश्यकता देखिन्छ ।

एक समयमा अंग्रेजी माध्यमबाट शिक्षण गर्ने विद्यालयहरूलाई प्राथमिकता दिइयो । यसको केहि समयपछि अंग्रेजी माध्यम र नेपाली माध्यमबाट पढाइ हुने विद्यालयहरूको माझमा स्पष्ट फरक देखियो । अंग्रेजी भाषामा भएको आकर्षणका कारण त्यस्ता विद्यालयमा विद्यार्थी संख्या बढ्यो । नेपाली माध्यममा पढाइ हुने विद्यालयहरूमा विद्यार्थी संख्या घट्दो रुपमा भएको सुन्न थालियो । यसरी शिक्षणको भाषाका कारण विद्यालय र विद्यार्थीको स्तरनै फरक देखिन थालेकोमा हाल नेपाली माध्यमबाट सिकाइ गर्ने विद्यालयहरूले पनि क्रमशः अंग्रेजी माध्यममा जान थालेपछि यी दुइको फरकमा केहि कमी हुन थालेको छ । विगतमा भाषाको कारण विद्यालय र विद्यार्थीमा फरक देखिए जस्तै अब कम्प्युटर लगायतका डिजिटल सामग्री प्रयोग गर्ने र नगर्ने विद्यालय तथा विद्यार्थीको माझमा फरक देखिने सम्भावना बढेको छ । यस्तो फरक विद्यालय-विद्यालय र एउटै विद्यालयका विद्यार्थीहरू माझ पनि देखिन सक्छ । यसलाई समय मै विचार नपुर्‍याइएमा पछि गएर यो फरकले स्पस्ट रूपमा विभाजन देखिने खतरा देखिन्छ । यसका लागि डिजिटल सामग्री नै नभएका विद्यालयहरूमा थोरैबाट मात्र भए पनि सरकारी निकायबाट शुरुवात गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ ।

यस्तै विद्यालयमा डिजिटल सामग्री प्रयोग हुन थालेको भएमा क्रमशः विद्यार्थीले प्रयोग गर्ने वातावरण बढाउनुपर्छ । एक जमाना थियो, सबै विद्यार्थीले बाह्रै महिना शिक्षण शुल्क तिर्ने, पुस्तक सबै किन्ने, कपडा आफैँ किन्ने, छात्रवृत्ति र खाजाको त कुरै छाडौँ । हाल क्रमशः मासिक शुल्क तिर्नु नपर्ने, पाठ्यपुस्तक निःशुल्क, कपडा र छात्रवृत्ति पनि धैरैले पाउने अवस्था आएको छ । विद्यालयमा दिवा खाजा उपलव्ध हुन थालेको छ । अब यसलाई निरन्तरता दिँदै विद्यार्थीलाई प्रविधिसँग जोड्न विपन्न र जेहन्दार विद्यार्थीलाई कम्प्युटर लगायतका उपकरणहरू क्रमशः उपलव्ध गराउने योजना पो बनाउने हो कि ? नत्र एउटै विद्यालयमा पनि डिजिटल उपकरण किनेर प्रयोग गर्ने र किन्न नसक्ने विद्यार्थीहरुको माझमा फरक आउँछ । यसले सिकाइका अन्य क्रियाकलापमा पनि असर पर्न सक्छ ।

विद्यार्थीले प्रयोग गर्ने पुस्तकमा एकरुपता हुन जरुरी छ । पाठ्यक्रम विकास केन्द्रबाट तयार पारिएको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरू निर्धारण गरिएका हुन्छन् । कक्षागत आधारमा तोकिएका यस्ता सामग्री मात्र विद्यार्थीलाई प्रयोग गर्न लगाउनुपर्छ । धेरैखाले पुस्तक लगायतका सामग्री प्रयोग गर्न लगाउँदा अभिभावकलाई आर्थिक र विद्यार्थीलाई मानसिक बोझ हुन्छ । यस्तै विद्यालयमा प्रयोग गर्ने डिजिटल शैक्षिक सामग्रीमा पनि एकरूपता हुनुपर्छ । पाठ्यक्रम प्रारुपसँग मेल खाने हुनुपर्छ । थप क्रियाकलाप र डिजिटल शैक्षिक सामग्रीहरू प्रयोग गर्ने हो भने पनि विद्यार्थीको उमेर र सिकाइ स्तर अनुसार उपयुक्त हुने खालका मात्र हुनुपर्छ । रमाइलो र अरू भन्दा फरक देखाउने नाममा विद्यार्थीहरूलाई अनावश्यक बोझ हुने चाहि हुनुहुँदैन ।

सरकारबाट लकडाउनको घोषणा पश्चात् विद्यार्थीहरूको शिक्षण सिकाइलाई निरन्तरताका लागि विभिन्न प्रयास हुनका साथै तिनलाई थप प्रभावकारी र निरन्तरता दिनेतर्फ कामहरू शुरु भएका छन् । राष्ट्रिय पाठ्यक्रम प्रारुपका आधारमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्विकृत गरिएका विधि र सामग्रीहरू प्रयोग गर्नैपर्छ । शिक्षक आफैँ थप सिर्जनशील भएर यहि मापदण्डमा आधारमा थप सामग्री संकलन वा तयार पारेरपनि प्रयोग गर्न सकिन्छ । व्यवहारिक ज्ञान बढाउन घर परिवारमा गरिने दैनिक कामको जानकारी र प्रयोग गर्न लगाउन सकिन्छ । प्रविधिका साधनमा पहुँच भएका ठाउँहरूमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेभसाइट http://doe.gov.np/ मा भएका “उपयोगी सिकाई सामग्री” प्रयोग गर्न सकिन्छ । यस्तै पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा गैरसरकारी प्रयासमा अभिभावक, शिक्षक र विद्यार्थी सबैको लागि उपयोगी सामग्रीहरू भएको https://pustakalaya.org/ पनि प्रयोग गर्न गराउन सकिन्छ ।

Original Post on Shikshyapatra.